संगीत । श्रष्टाको सम्मान र अधिकारको विषय चर्चा हुने गरेको छ । गीतसंगीतहरू मार्फत गायकले स्टेज शो लगायतका कार्यक्रमहरूबाट लाभ लिएता पनि पर्दा पछाडीका सर्जकहरु संगीतकार, गीतकार भने ओझेलमा पर्ने गरेको वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा बताउनुहुन्छ । विशेषत फिल्मसँग जोडिएको गीतसंगीतमा निर्माता वा संगीतकार मध्ये कसको बढी अधिकार रहन्छ भन्ने विषयमा मत भिन्नता रहदै आएको छ ।
समस्याहरूको सम्बोधन र समाधान गर्न संगीत बोर्डको स्थापना हुनुपर्ने वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा बताउनुहुन्छ । ‘चलचित्र क्षेत्रको विकासको लागि चलचित्र विकास बोर्डको गठन भएको छ । संगीत बोर्ड मार्फत समस्यालाई नीतिगत रुपमा समाधान गर्न सक्छौँ’, संगीतकार बाँस्कोटाले बताउनुभयोे । बौद्धिक सम्पतिको मौलिक हकको विषयमा उठिरहेको आवाजलाई राज्यले गम्भीरतापुर्वक लिनुपर्ने उहाँको भनाइ छ ।
संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले गीतकार, गायन समाज, उत्पादक संघ, रोयल्टी संकलन समाज एक आपसमा सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । अध्यक्ष सापकोटा भन्नुहुन्छ,’बौद्धिक हकको विषयसँग जोडिने सम्पूर्ण संघ र संस्थाहरु एक भएर आफ्नो आवाजलाई बुलन्द बनाएमा सम्बन्धित निकायले हाम्रो विषयमा सोच्नेछन् । हामीलाई अधिकार माग्न नआएको हुनसक्छ । अब झक्झकाउने गरी आवाज उठाउने छौँ ।’
रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी गीतसंगीतको रोयल्टीको विषयलाई गम्भीरतापुर्वक लिनुपर्ने बताउनुहुन्छ । उहाँ गीतसंगीतसँग जोडिएको सम्पूर्ण व्यक्तिहरू रोयल्टीको हकदार हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,’हामीले गायक, संगीतकार र गीतकारसँगैे रेकर्डिङ गर्ने देखि बाजा बजाउनेसम्मलाई लाभ हुने गरी रोयल्टी सम्बन्धी नीतिनियम बनाउनुपर्छ । हाम्रो पुरानै कानुन छ । नयाँ नबन्दासम्म हामीलाई नीतिगत अवरोध छ।’