फिल्म । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झिँगेदाउ’ ले दर्शकको साथ् पाइरहेको छ । शुक्रबार सामान्य देखिएका दर्शक शनिवार बढे । ती बढेका दर्शकले अन्यलाई पनि फिल्म सिफारिस गर्दा यतिबेला हलमा दर्शकको चाप कायमै छ । फिल्म हेर्न पुगेका दर्शकले ‘वर्ड अफ माउथ’ बलियो दिदा परिवार नै दर्शक बनेर हलसम्म पुगिरहेका छन् । शुक्रबार ठीकठाक सुरुवात गरेको फिल्म वीकडेजमा समेत दर्शकले भरिभराउ छ ।
फिल्म हेर्न् स-परिवार नै पुग्ने भएकाले मध्यान्ह पश्चातका अधिकाँस शोहरुमा दर्शकको चाप छ । फिल्मको कम्जोर व्यापार देखिने आइतवार र सोमबार दर्शकको चाप देखिएपछि यसै फिल्म मार्फत निर्माण तथा निर्देशनमा कमब्याक गरेका निर्देशक ज्ञानेन्द्र देउजा दंग छन् । यस्तै फिल्मका कलाकारहरुले पनि हल पुगेर खुसी साटिरहेका छन् । शुक्रबार र शनिवार काठमाडौंका हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएकी आँचल शर्माले सोमबार चितवन पुगेर दर्शकसँग साक्षात्कार गरिन् ।
आँचलले सोमवार श्रीमान् उदिप श्रेष्ठको जन्म जिल्ला चितवन पुगेर ‘झिँगेदाउ’ हेर्ने दर्शकहरुसँग प्रत्यक्ष भेट गरेकी छन् । उनी चितवनमा रहेका क्यूएफएक्सको जलमा र इन्द्रदेव हल पुगेकी थिइन्, जहाँ उनलाई हेर्नका लागि ठूलो भीड लागेको थियो । आँचल पुगेका कारण सोमवार चितवनमा ‘झिँगेदाउ’ले ८० प्रतिशत माथि अकुपेन्सी कायम गरेको वितरकले बताएका छन् । फिल्म हेर्न महिलाहरुको बढी उपस्थिति थियो । परिवारसहित फिल्म हेर्न आएकी एक जेष्ठ आमाले आँचललाई भेट्दा अंगालो हाल्दै आँसु बगाइन् । आँचलले पनि ती आमाप्रति अगाध प्रेमभाव दर्शाइन् ।
आमा , दुई छोरा र दुई बुहारीको कथा भन्ने फिल्म ‘झिँगेदाउ’ स्वर्गीय भीमनिधि तिवारी लिखित सोही नामको कृतिमा आधारित रहेर तयार गरिएको छ । फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका छन् । उनले कृतिको मर्मलाई यथावत राखेर फिल्ममा ल्याएको बताए । फिल्ममा आँचलसँगै मुकुन भुषाल, केकी अधिकारी, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको अभिनय छ ।









