फिल्म । आउँदो असोज २१ बाट प्रदर्शनमा आउने फिल्म ‘२ नम्बरी’ सार्वजनिक टिजरको कारण चर्चामा छ । सार्वजनिक टिजरले दर्शकको माया पाईरहदा निर्माण टिमले यसको गीत सार्वजनिक गरेको छ । ‘झलल आयो तिम्रो याद’ बोलको रोमान्टिक थिमको सार्वजनिक गीतमा फिल्मका दुई कलाकार सौगात मल्ल र उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौगात र उपासना बीचको प्रेमभाव देखाइएको छ ।
साथै , गीतले सौगातको फिल्मका अर्का अभिनेता दयाहाङ राईसँगको मित्रता पनि प्रस्तुत गर्छ । ‘कबड्डी ४’पछि दयाहाङ र सौगात एकसाथ देखिएकाले ‘२ नम्बरी’को दर्शकमा ठूलो प्रतिक्षा छ । फिल्मले उनीहरुको मित्रताको कथा भनेको छ । फिल्ममा लेखन तथा निर्देशन दीपेन्द्र लामाको रहेको छ । यसै फिल्मबाट भुटानकी चर्चित अभिनेत्री उगेन छोदेनले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।
रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ भने किरण नेपाली प्रस्तुतकर्ता हुन् । किरणले यसअघि फिल्म ‘पोइ पर्यो काले’को निर्माण गरेका थिए । फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको दृश्य सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ ।












