विवाहपछि इन्दिरा भन्छिन् ,’हाम्रो सम्बन्ध मित्रताले बलियो भयो ‘

संगीत । नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेर आइटम गायिकाको रूपमा पार्श्व गायनमा नाम कमाएकी गायिका इन्दिरा जोशीले गत जेठ अन्तिममा प्रेमी शरद केडियासँग विवाह गरिन् । उनको विवाह सामान्य तरिकाले नै सम्पन्न भयो । गायनमा आफ्नो छुट्टै नाम बनाएकी इन्दिराको बिहेमा निकै कमको मात्र उपस्थिति रहेको थियो । बिवाहबारे उनी आफैँले जानकारी दिएकी थिइन् ।

शरदसँग उनको भेट तीन वर्ष अगाडी मात्र भएको थियो । भारतको दिल्लीमा फेशनको अध्ययन गरेर नेपाल फर्किए लगत्तै इन्दिराको भेट शरदसँग भएको हो । इन्दिरालाई शरदसम्म पुग्ने बहाना बन्यो डिजाइन / फेशन र पुर्याउने माध्यम बने साथी । उक्त साथी इन्दिराको मात्र होइन शरदको पनि नजिक छन् । विवाह भएको दुई साता बितिसक्दा पनि फरक अनुभव नगरेकी इन्दिरा यहाँसम्मको यात्रा तय हुनुमा शरदको सरलता देख्छिन् ।

‘हाम्रो कमन फ्रेन्डकै कारण भेटघाट बाक्लियो । फेशन सम्बन्धी कुराकानी भएकाले पनि भेटघाट बढ्नु स्वाभाविक नै हो । एक अर्काको बानी मन परेकाले हामी नजिकिन थाल्यौँ । खाना वा खाजामा भेटघाट हुन् थाल्यो’ इन्दिराले भनिन् । उनले शरदको सरल व्यवहार र झुट नबोल्ने बानीकै कारण आफू नजिकिएको बताइन । त्यसो त शरद र इन्दिराको संयुक्त साथीहरूले पनि जोडी सुहाएको प्रतिक्रिया दिइरहन्थे । उनले आफ्नो र शरदको सम्बन्ध मित्रताले अगाडी बढाएको र दिगो भएको बताइन ।

एक आपसमा घुलमिल भएपछि शरदले नाम्चेमा इन्दिरालाई औँठी लगाइदिएका थिए । तर , उनको योजना भने उच्च हिमाली भेगमा पुगेर प्रस्ताव गर्नु थियो । उनले इन्दिरासँग एभरेष्ट रन वे फेशन शोमा सहभागी जाने मौका छोपेका थिए । यद्यपि मौसमको कठिनाइले त्यो नाम्चे बजारमै भयो । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिँदा इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

उनले विवाह पश्चात् पनि त्यति धेरै फरक महसुस गरेकी छैनन् । किनकि प्रेम जीवनमै उनीहरू एक अर्कालाई सघाउँथे । एक अर्काको परिवारसँग परिचित थिए । यसले गर्दा पनि इन्दिरा शरदको परिवारसँग घुलमिल थिइन् । ‘म टोखा बस्थे , शरद नक्सालमा । मलाई फस्ट आवरमा काम हुँदा छिटै शरदको घरमा आउँथे । शोहरुमा जानु पर्दा पनि उसकै घरमा मेकअप आर्टिस्टलाई बोलाएर तयार भएर जान्थे । यसले गर्दा पनि विवाहपछि सामान्य नै छ’ इन्दिराले भनिन् । उनलाई शरदले श्रीमतीजी भन्दा भने केही अनौठो लाग्छ । ‘हेल्लो वाइफ भनेको सुन्दा रमाइलो लाग्छ । हामी अहिले पनि विवाह अगाडीकै समयमा छौँ जस्तो लाग्छ’ उनले भनिन् ।

फोटो : इन्दिरा जोशीको फेसबुकबाट

कमेन्ट गर्नुहोस्