फिल्म । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय महेशबाबु तिमल्सेना नेपाली फिल्मका राम्रा दर्शक पनि हुन् । अष्ट्रेलियामा बसोबास गर्ने महेश त्यहाँ शो हुने नेपाली फिल्महरु भ्यायसम्म हेर्ने गर्छन् । कोरोना भाइरस महामारी अगाडीको अवस्थालाई सम्झिने हो भने अष्ट्रेलिया नेपाली फिल्मको राम्रो बजार हो । नेपालमा हाइप भएका फिल्मले त्यहाँ राइट्स बेचे वापत झन्डै ३० देखि ५० लाखसम्म पाउने गरेका छन् ।
त्यसैले गर्दा पनि अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु फिल्म लगानीमा समेत जोडिने गरेका छन् । फिल्म हेरिरहदा आफुले खोजेको कथा नपाएपछि महेशले पनि फिल्म निर्माण गर्ने सोच बनाए । नेपाली फिल्ममा युवाको कथालाई देखाउने सोचका साथ् उनले निर्देशक दिनेश पाल्पालीसँगको सहकार्यमा तयार पारेको ‘चिसो एष्ट्रे’ आउँदो चैत्र ४ मा प्रदर्शन हुदैछ । सुन्दा नाम फरक लाग्ने फिल्ममा सहरमा अल्मलिएको जीवनलाइ चुरोट निभाउने एस्ट्रेसँग विम्वात्मक रुपमा जोडिएको छ ।
तर , यो फिल्म सहजै हलमा आउन लागेको भने होइन । यो फिल्म तयार हुन् ७ वर्ष लागेको छ । ‘२०७२ सालमा फिल्म छायांकनमा जाने तयारीमा थियो । हामीले जेठको पहिलो साताबाट छायांकन गर्ने तयारीका साथ योजना बनाई रहेका थियौं । तर , वैशाखमा आएको भूकम्पले योजना विफल बनायो’ महेशले प्रोजेक्ट मेकिङ सुनाए । भूकम्पका कारण रोकिएको छायांकन त्यस वर्ष भएन ।
त्यो अगाडी पनि स्क्रिप्टमा धेरै मेहनत गरिएको थियो । भूपी सेरचनको कविताबाट प्रभावित भएर स्क्रिप्ट बनाएका निर्देशक दिनेशले यसलाई फाइनल गर्दासम्म ११ पटक रि-राइट गरिसकेका थिए । ‘नेपाली फिल्ममा साहित्यलाई पर्दामा उतारेका उदाहरण निकै कम छन् । मैले पनि स्क्रिप्ट पढेपछि यसलाई पर्दामा उतार्न सक्नु हुन्छ भन्ने प्रश्न गरेकी थिए । निर्देशकले सुनाउनु भएको आइडियामा म कन्भिन्स भए र त्यो स्क्रिप्टलाई फिल्मको स्वरूप दिन तयार भए’ महेशले भने ।
भूकम्पका कारण रोकिएको छायांकन विविध कारणले सन् २०१७ मा मात्र सूरु भयो । एक सय २३ दिन लगाएर फिल्मको छायांकन गरियो । निर्माता महेशले फिल्ममा २ वर्षको यामलाई कैद गरिएको बताए । प्रोजेक्ट मेकिङ बारे थप गफ्फिदै उनले भने , ‘हामीले फिल्ममा जाडो , गर्मी सबै नेचुरल लागोस भनेर नै २ वर्षको समय लगाएर खिचेका हौँ । यहाँ देखिएको जाडो र परेको पानी नेचुरल नै छन् ।’
फिल्म अघिल्लो वर्ष नै रिलिज गर्ने तयारी गरिएको थियो । यद्दपी कोरोना भाइरसको महामारीका लहरहरुले गर्दा त्यो सम्भव भएन । ‘हामीले एउटा लेखिएको कथालाई पर्दामा विना सम्झौता उतार्ने कोशिस गरेका छौँ । फिल्मले हाम्रै काठमाण्डौको कथा भन्छ । सात वर्षको मेहनत आउँदो चैत्र ४ मा हलमा पुग्दैछ’ महेशले भने । केहि दिन दिन अगाडी मात्र सार्वजनिक भएको ट्रेलरले पाएको प्रतिक्रिया उनि फिल्मलाई दर्शकले रुचाउनेमा विश्वत छन् । फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ ।
निर्देशक पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।










