देश । नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेपछि नेपाल दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।
कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई विरुद्धको जितमा कप्तान सन्दीप लामिछानेले तीन विकेट र गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २ सय १८ रनको विशाल योगफल खडा गरेको थियो । उनको यो टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए ।