फिल्म । आगामी कात्तिक ५ गतेदेखि भारतको मुम्बइस्थित फिल्म हलहरु खुल्ने मुख्यमन्त्री उद्दव ठाकरेको कार्यालयले ट्वीटमार्फत जानकारी दिएको छ । हल खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । हल खुलाउने निर्णय भएसंगै बलिउडले यसलाई स्वागत गरेको छ । बलिउडका ठुला व्यानरले फिल्म हल खुल्ने निर्णय आएसंगै फिल्म रिलिज हर्ने सेड्युल सार्वजनिक गरेका छन् । मुम्बईका फिल्म हल नखुल्दा निर्माताले रिलिज तय गर्न सकेका थिएनन । यद्दपी पछिल्लो निर्णयसंगै बलिउडकर्मी उत्साहित भएका छन् ।
आइतबार मात्र बलिउडका प्रतिक्षित फिल्महरुले रिलिज घोषणा गरेका छन् । सूर्यवंशी, बन्टी और बब्ली २, पृथ्वीराज, जयश भाई जोरदार र शम्शेरा, तडप, ८३ लगायत रहेका छन् । प्रतिक्षित फिल्म मध्येको एक सूर्यवंशीले दिपावलीलाई रिलिज घोषणा गरेको छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् । यस्तै यसमा अजय देवगन र रणवीर सिंहलाई पनि गेस्ट रोलमा देख्न पाइनेछ ।
यस्तै , अक्षयकै बच्चन पाण्डे सन् २०२२ को मार्च ४ र राम सेतु त्यहि वर्ष दिपावलीमा प्रदर्शन हुनेछ । ‘तडप’ डिसेम्बर ३ तारिख, रणवीर सिंहको मुख्य भूमिका रहेको ‘८३’ यो बर्षको क्रिसमसमा रिलिज हुने भएको छ ।
नायक टाइगर श्राफको मुख्य भूमिका रहेको ‘हिरोपन्ती’ सन् २००२ कोे मे ६ मा , नायक अजय देवगणले निर्माण गरेको ‘मेडे’को पनि प्रदर्शन मिति तय भएको छ । यो सन् २०२२ को अप्रिल २९ तारिखबाट रिलिज हुने भएको छ । यस्तै , शाहिद कपूरको जर्सी यसै वर्षको डिसेम्बर ३१ मा , कार्तिक आर्यन, कियरा आडवाणी, तबु लगायतका कलाकारको ‘भूलभूलैया २’ सन् २०२२ को मार्च २५ बाट रिलिज हुने भएको छ ।
यही वर्ष प्रदर्शन हुने घोषणा गरेको आमिर खानको बहुप्रतीक्षित फिल्म ‘लालसिंह चढ्ढा’ भने यो सालबाट सरेर अर्को साल पुगेको छ । क्रिसमसमा आउने घोषणा गरेको यो फिल्म सन् २०२२ को भ्यालेन्टाइनमा आउने भएको छ । आइतबार आमिर खान प्रडक्सनले महामारीका कारण निर्धारित समयमा फिल्मको काम नसकिएको भन्दै प्रदर्शन मिति धकेलेको जनाएको छ । अद्वेत चन्दनले निर्देशन गरेको यो फिल्ममा आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ ।
– न्युज कारखाना








