कोपा अमेरिका : फाइनलमा अर्जेन्टिना

खेलकुद । कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिना पुगेको छ । बुधबार विहान सकिएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाको छिनोफानो पेनाल्टीबाट गरिएको हो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार इंग्लिस क्लब एष्टोन भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले रोकेका थिए ।

पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई विफल पार्दै मार्टिनेजले हिरो बने । कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके। अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे । डि पाउलको पेनाल्टी भने सफल हुन सकेन । यसअघि खेल सुरु भएलगत्तै अर्जेन्टिनाले अग्रता लिएको थियो ।

सातौं मिनेटमा कप्तान मेस्सीले उपलब्ध गराइदिएको पास उपयोग गरी लाउटारो मार्टिनेजले शानदार गोल गरी पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुधारिएको काेलम्वियाले ६१ औं मिनेटमा बराबरी गोल फर्कायो । इडविन कार्डोनाको लामो पास सदुपयोग गरी लुइस डियाजले काउन्टर एट्याकमार्फत कठिन एंगलबाट गोल गरेका थिए । प्रतियोगिताको नियमअनुसार ३० मिनेटको अतिरिक्त समय नथपी पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्