खेलकुद । युरो कप २०२० को क्वार्टरफाइनलमा डेनमार्क प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा वेल्समाथि ४-० गोलको सानदार जित निकाल्दै डेनमार्क अन्तिम आठमा पुगेको हो । लगातार दुई खेलमा चार गोल गरेसँगै डेनमार्कले कीर्तिमान बनाउन सफल भयो। डेनमार्क युरो कपमा लगातार दोस्रो खेलमा चार वा सो भन्दा बढी खेलमा गोल गर्ने पहिलो टिम बन्यो। नेदरल्यान्ड्सको आम्सटरम्याममा भएको खेलमा गत संस्करणको सेमिफाइनलिस्ट वेल्समाथि हाबी बनेको डेनिस टोलीका लागि कास्पर डोलबर्गले दुई तथा जोकिम मेहेले र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे ।
वेल्समाथि हाबी बनेको डेनमार्कले प्रतियोगितामा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका डोलबर्गले २७औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्कका लागि ४८औं मिनेटमा डोलबर्गले व्यक्तिगत दोस्रो गोल गरेका थिए । आक्रामक शैलीमा प्रस्तुत भएको डेनमार्कका लागि ८८औं मिनेटमा मेहेले गोल गरे ।
निर्धारित ९० मिनेटसम्म हाबी बनेको डेनमार्कले इन्जुरी समयमा ब्रेथवेटले गरेको गोलसँगै ४-० को जित सुनिश्चित गर्यो । शानदार जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो । सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क समूह बीको तेस्रो स्थानमा रहँदै नकआउटमा आइपुगेको हो । सेमिफाइनल प्रवेशका लागि डेनमार्कले अब नेदरल्यान्ड्स र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ । (एजेन्सी)










