देश । आइतबार नेप्से दोहोरो अंकले बढेको छ । विहान प्रि-ओपेन र त्यसपछि १२ बजेसम्म भएको कारोबारमा घटेको नेप्से बजार बन्दा हुँदा ३२.८१ अंकले बढ्दै २ हजार ८ सय २० विन्दुमा पुगेको छ । बजार खुलेको १० मिनेटमा नै ४८ अंकले घटेको नेप्से एक घण्टापछि भने केही सम्हालिन पुग्यो । अन्त्यमा दोहोरो अंकले वृद्धि हुँदै नेप्से बन्द भएको छ । आज २ करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ताको कारोबारमा नेप्से परिसूचक ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ । २ सय २० कम्पनीकाे सेयर किनबेच भएको हो ।
कर्णाली विकास बैंक र ग्रीन डेभलपमेन्ट विकास बैंकको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । आज लामो समयदेखि बढ्दै आएको समता लघुवित्त र रु रु जलविद्युत कम्पनीको शेयर मूल्य भने ३ प्रतिशतले घट्न पुगेको छ । आज होटल तथा टुरिजम, निर्जीबन बीमा कम्पनी तथा माइक्रोफाइनान्स कम्पनी बाहेक सबै उप समूहको परिसूचक हरियो भएका छन् । आज सबैभन्दा बढी विकास बैंक समूहको सवइन्डेक्स ७ दशमलव ५४ र फाइनान्सको ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।









