देश । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर बढेसंगै नेपालमा पनि त्यसको असर देखिएको छ । विशेषत भारतमा दोस्रो लहर बढेको केहि समयमै नेपालमा पनि संक्रमित र मृतकको संख्या बढ्न थालेको छ । यसैले गर्दा कोभिद १९ को चेनब्रेक गर्न नेपालमा पनि अधिकांस जिल्लामा निषेधाज्ञा लगाइएको छ । पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ । संक्रमणको अवस्थालाई नियाल्दै स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि २९ गतेसम्म लगाइएको निषेधाज्ञालाई थप १५ दिन बढाईएको छ । दोस्रो लहरको कोरोना संक्रमणबाट बढी प्रभावित बनेको बाँकेमा लगाइएको निषेधाज्ञा जेठ ३ गतेसम्म लम्ब्याइएको छ । यसैगरी सुर्खेतमा वैशाख १४ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बढाएर वैशाख ३१ गतेसम्म पुर्याइएको छ ।
चितवन, बागलुङ, सुनसरी, बर्दिया तथा झापामा पनि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मोरङमा लगाइएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी रहनेछ । काभ्रे, मकवानपुर, रामेछाप, पर्वत, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक, धनकुटा, सप्तरीमा केही स्थानीय तह र क्षेत्रमा मात्रै निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ । रुकुम पूर्व, मुस्ताङ, मनाङ, लमजुङ, सोलुखुम्बु, खोटाङ, भोजपुर र तेह्रथुममा भने निषेधाज्ञा जारी गरिएको छैन ।







