सेरमको खोपमा नेपाललाई पनि प्राथमिकता

विदेश । भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप उत्पादन गर्ने योजना बनाएको जानकारी दिएको खबर कान्तिपुर दैनिकमा छ ।

सेरमले कोरोना खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको जानकारी पाएको राजदूत आचार्यले कान्तिपुरलाई जनाएका छन् । भारतमा हाल सेरमलगायत कम्पनीका ६ वटा खोपको परीक्षण अन्तिम चरणमा छ । भारतमा खोपको सरकारी मूल्य ३ डलर र खुला बजारमा ६ डलरसम्म पर्ने अनुमान छ । उक्त खोप दुई पटक लगाउनुपर्ने बताइएको छ ।

गत महिना भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय छलफलमा पनि यस विषयले प्राथमिकता पाएको थियो । शृंगलाले पनि भारतको खोप उपलब्ध गराउने मुलुकहरूमा नेपाल प्राथमिकतामा रहेको जनाएका थिए । विश्वमा भारतले ६० प्रतिशतभन्दा बढी खोप उत्पादन गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्