देश । नेपाल क्रिकेट संघ(क्यान) ले अस्ट्रेलियाका डेव ह्वाटमोरलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बिहिबार क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकसहित विभिन्न पदाधिकारी नियुक्त गरेको जानकारी दिएको छ । जारी विज्ञाप्ति अनुसार पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजरका , रौनकबहादुर मल्ललाई संघको महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरिएको छ ।
ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को विश्वकप जितेको थियो । उनले श्रीलंकाली राष्ट्रिय टिमपछि बंगलादेश, पाकिस्तान र जिम्बाब्वेको राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका थिए । उनले सन् १९७५ देखि फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । सन् १९८९ मा उनले क्रिकेट खेलाडीका रुपमा संन्यास लिँदै प्रशिक्षकका रुपमा करिअर सुरुवात गरेका थिए ।
मुख्य प्रशिक्षकको दौडमा ह्वाटमोरसहित भारतका चेतन शर्मा, श्रीलंकाका पुबुदु दासानायके, दक्षिण अफ्रिकाका लान्स क्लुसनर र नेपालका शेरबहादुर (सुनील) लामालगायत थिए ।