देश । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ । लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरालाई बढाउने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्ति, जोखिमयुक्त स्थानबाट उपत्यकामा आएका व्यक्तिहरुलाई स्वाब परीक्षण गराउन आग्रह गरेको हो ।
तोकिएको १४ वटा अस्पतालमा स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म ती सबै केन्द्रमा स्वाब संकलन हुने जनाइएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, विर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, विरेन्द्र सैनिक अस्पताल, प्रसुति गृह, स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल–कोरिया मैत्री अस्पताललाई स्वाब संकलन केन्द्र तोकिएको मन्त्रालयले जनाएको छ । यस अतिरिक्त सम्पूर्ण हब अस्पतालहरु, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १, २ र ३ अस्पतालहरुमा पनि स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ ।








