देश । केहि दिन यता प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउनु भएको अध्यादेशको विरोध भइरहेको छ । पार्टी फुटाउन ४९ प्रतिशत भए पुग्ने प्रावधानको विरोध भइरहेको छ । यसैबीच समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति हुँदै पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहेको छ । झण्डामा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । भने , चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।
समानताको आधारमा एकता हुने सहमति पत्रमा उल्लेख गरिएको छ । यद्दपी नेतृत्वको विषय टुंगिएको छैन । अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् । पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।











