फिल्म । बलिउडमा पछिल्लो समयका महंगा कलाकार मध्येका एक हुन् अक्षय कुमार । उनले एक दिनकै २ करोडसम्म लिने गरेका छन् । यिनै अक्षयले नयाँ फिल्म ‘बच्चन पाण्डे’ को लागि ९९ करोड पारिश्रमिक बुझ्ने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनले यो रकम कोरोना भाइरसको कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै छुट दिएर तय भएको हो ।
छुट नदिएको अवस्थामा अक्षयले फिल्मको लागि १ सय २० करोड पारिश्रमिक बुझ्न सक्ने थिए । उनको नजिकका साथी साजिद नडियाडवालाले निर्माण गर्ने फिल्म भएकोले पनि अक्षयले ९९ करोडमा सहमति जनाएका हुन् । अक्षय र साजिद सन् १९९० देखिकै मित्र हुन् । ग्याङस्टर कमेडी फिल्मलाई फरहाद सामजीले निर्देशन गर्नेछन् । फिल्ममा अक्षयसँगै पुजा हेग्ड़े , अर्शद वारसी , ज्याक्लिन फर्नान्डिज लगायतको अभिनय रहनेछ । आउँदो वर्ष छायांकन हुने फिल्म दिपावली वा क्रिसमसमा रिलिज गर्ने तयारी निर्माण टिमको छ ।











