आर्यनको हिरोइन को ?

फिल्म । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी जनरमा बन्ने फिल्ममा आर्यन सिग्देल,सलोन बस्नेत,सुमन थापा,नागेन्द्र रिजाल,दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मको नायिका भने तय भएको छैन ।

फिल्ममा उमेरअन्तर देखाईने भएकोले आर्यनका लागि २० देखि २५ वर्ष झैँ देखिने को-स्टारको खोजीमा निर्माण पक्ष रहेको छ । फिल्मको लागि निर्माण पक्षले सुहाना थापालाई अफर गरेको छ । फिल्मको स्क्रिप्ट समेत पढेकी सुहानाले एस र नो भनेकी छैनन् । निर्माण टिम भने कथा अनुसार सुहाना फिट हुने बताएको छ । साथै , अन्य केहि नयाँ अनुहार पनि हेरिएको बुझिएको छ ।

राम प्रसाद रिजालको प्रस्तुति रहने फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेका छन् । यसलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले गर्नेछन् ।

‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । फिल्मको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् । माघ ४ गतेदेखि सुटिङ थालिने फिल्मको निर्मातामा राजकुमार भट्ट छन् । युनिटको तालिका अनुसार नै हिरोइन तय भएमा फिल्म यसै वर्ष छायांकन सकेर प्रदर्शनको लागि तयार हुनेछ । फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । फिल्म काठमाडौ र पोखरामा खिचीने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरालगायतका फिल्म निर्माण गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्