देश । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताको लागि एउटै सर्ट कोडहरु प्रयोगमा आउने भएको छ । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ । हाल प्रयोजनमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन गर्ने र एकै कोडलाई प्रायोजनमा ल्याउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि, २०७७’ले हाल कार्यान्यवनमा रहेका विभिन्न सर्ट कोड र टोल फ्रि नम्बरको व्यवस्थापन गर्ने व्यवस्था गरेको हो । अहिले सेवा प्रदायकपिच्छे फरक कोडहरु प्रयोग भइरहेको छ । नयाँ कार्यविधि अनुसार ६ महिनाभित्रै सबै सेवा प्रदायकले ब्यालेन्स थाहा पाउन १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ । अहिले प्रयोगकर्तालाई बानी पार्न नयाँ र पुरानो दुबै कोड प्रयोगको अनुमति पनि कार्यविधिले दिएको छ । एक वर्षपछि अहिले प्रयोगमा रहेका सर्ट कोड निष्क्रिय हुनेछन् । र, हाल कार्यविधिले व्यवस्था गरेका कोडमात्रै प्रयोगमा आउनेछन् ।
यस्तै , जानकारीमूलक सेवा प्रदान गर्न चलाइएका टोल फ्रि नम्बर सम्बन्धी व्यवस्थामा पनि हेरफेर भएको छ । नेपाल टेलिकमले १६६० बाट सुरु भएका ११ अंकका र एनसेलले १० अंकका टोल फ्रि नम्बर उपलब्ध गराइरहेका छन् । अब भने सेवा प्रदायकले १८०० बाट सुरु हुने गरी यस्तो नम्बर दिनुपर्नेछ । जुन १० अंकका हुनेछन् ।









