देश । नेपालमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमित भेटिएसँगै सरकारले गत वर्षको चैत्र ११ गतेदेखि लकडाउन गरिरहेको छ । तर , लकडाउन मात्रै गरेर परिक्षणको दायरा बढाउन नसक्दा संक्रमितको संख्या बढ्दो छ । अन्य मुलुकबाट नेपाल भित्रिएका नेपालीहरुलाइ क्वारेन्टाइनमा उचित रुपमा राख्न नसक्दा र मान्छे लुकेर नेपाल भित्रिएको हुँदा संक्रमित बढिरहेका छन् । विशेषत भारतसँग बोर्डर जोडिएको जिल्ला र प्रदेशमा यस किसिमको जोखिम बढ्दो छ ।
यस्तै जिल्ला मध्येको एक हो , सर्लाही । भारतसँग सिमाना जोडिएको प्रदेश नम्बर २ को यो सर्लाही जिल्लामा नेपाल भित्रिने र संक्रमण देखिने संख्या बढ्दो छ । मंगलवार मात्र जिल्लामा २१ संक्रमित थपिएका छन् । यसैबीच जिल्लाको बरहथवा नगरपालिका अन्तर्गतको क्वारेन्टाइनमा रहेका झन्डै २ सय जनालाई लाइन्स क्लब अफ बरहथवाले पौष्टिक आहार वितरण गरेको छ ।
कोभिड १९ को गाइडलाइन अनुसार क्वारेन्टाइनमा रहेकालाई पौष्टिक आहार वितरण गरिएको क्लबका अध्यक्ष अमरेन्द्र कुमार सिंहले बताए । ‘हामीले हाम्रो नगरपालिका अन्तर्गत रहेका क्वारेन्टाइनमा रहेकालाई पौष्टिक आहार वितरण गरेका छौ । सुरुवाती चरणमा केहि आहार वितरण गर्दै नगरपालिकाको समन्वयमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको अवस्था पनि बुझिरहेका छौ । उनीहरुको खानपान देखि रहनसहनसम्मलाई नियाल्दै हामीले प्रतिवेदन समेत पेश गर्नेछौ’ अमरेन्द्रले भने ।
लाइन्स क्लबलाई क्वारेन्टाइनमा रहेकालाई पौष्टिक आहार स्वरूप फलफुल वितरण गर्न सुझाउने नेपाली कांग्रेसका नेता तथा क्लबका सल्लाहकार विनोद खनालले यस किसिमको कार्य आवश्यक रहेकोमा जोड दिए । उनले कोभिड १९ को मापदण्ड अनुसार संघसंस्थाले यस किसिमको क्रियाकपाललाई अगाडी बढाउनु पर्नेमा जोड दिए । ‘पछिल्लो समय हामीले राहत वितरणमा जोड दिएका छौ , त्यो राम्रो पनि हो । तर , हामीले संक्रमित र क्वारेन्टाइनमा रहेकाल़िया विर्सिनु हुदैन । सम्बन्धित स्थानीय निकाय र स्वास्थ्य टिमसँग समन्वय गरेर कोरोना भाइरसको मापदण्ड अनुसार क्वारेन्टाइनमा रहेकालाई उर्जा दिनु आवश्यक छ । उनीहरुलाई हतोत्साहित हुनु दिनु हुदैन । त्यसैले लाइन्सलाई यो कार्यका निमित सुझाएको हुँ’ विनोदले भने । नगरपालिकाका मेयर देवानन्द महतोसँगै लाइन्स क्लबको टिम नगरपालिका भित्र रहेका ११ क्वारेन्टाइनमा पुगेको थियो ।









