देश । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दो छ । लकडाउन भईरहेता पनि विदेशबाट आएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले जनाए । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
संक्रमित हुनेमा रौटहटका ७४ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।
त्यस्तै, दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमा थप ४५ जना रहेका छन् । शिक्षण अस्पतलमा उपचाररत मकवानपुरकी एक महिला, गुल्मी अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । त्यसैगरी भैरहवाको भीम अस्पतालबाट रुपन्देहीका १६ र कपिलवस्तुका ९ जना गरी २५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १७ र सुनसरीका एक गरी १८ जना डिस्चार्ज भएका हुन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या २६६ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् ।









