हाइड्रोक्सिक्लोरोक्विन औषधिमा अस्थायी प्रतिबन्ध

विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को समस्या विश्वभर छ । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान सहरमा पहिलो संक्रमित भटिए पनि यतिबेला कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । भाइरसबाट लड्न सामाजिक दुरी कायम गर्नु पर्ने भएको हुँदा अहिले विश्वका धेरैजसो देशले ‘लकडाउन’ गरिरहेका छन् ।

लकडाउन नै समाधान भने होइन । यसैले गर्दा विभिन्न देशमा यसको खोप बनाउने काम भइरहेको छ । तर , अझै पनि कोरोना भाइरस विरुद्ध प्रयोग गर्न सकिने खोप निर्धारण भईसकेको छैन । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको छ ।

यो औषधिले कोरोना संक्रमितमा मृत्यु खतरा बढाएको भन्दै डब्लुएचओले प्रतिबन्ध लगाएको हो । अनुसन्धानको रिपोर्ट आएसँगै डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोरोना क्लिनिकल ट्रायल)को कार्यकारी समूहको बैठक बस्दै हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो । हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विन औषधिको प्रयोग मलेरिया र लुपस जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्