दिवेश बने अमेरिकन आइडलको उपविजेता

संगीत । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलमा उप विजेता बनेका छन् । विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलको सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा उनले दोस्रो स्थान हासिल गरेका हुन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । अर्थर गनको स्टेज नामले परिचित दिवेशले उप विजेतामै चित्त बुझाउनु पर्यो ।

पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो । उत्कृष्ट दुईमा दिवेश र जस्ट साम छनोट भएका थिए । दिवेश सामसँग पछि परेका हुन् । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो । उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए। ‘न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेर युट्युबमा फ्यान बटुलिरहेका दिवेशले अमेरिकन आइडल प्रवेश पाएसँगै ठुलो फ्यान फ्लोअर्स कमाएका हुन् ।

कमेन्ट गर्नुहोस्