देश । गत वर्षको डिसेम्बर अन्तिममा चीनको हुवेइ प्रान्तको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिले विश्वका अधिकांस देशमा फैलिएको छ । यसको संक्रमणलाई थप फैलिन नदिन अधिकांस देशले ‘लकडाउन’ गरेर सामाजिक दुरी कायम गरिरहेका छन् । नेपालमा पनि गत चैत्र ११ गतेदेखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन अर्थात बन्दाबन्दी गरिरहेको छ । यस्तो समयमा पनि आवश्यक काम भने परिरहेकै हुन्छ । यसलाई मध्यनजर गर्दै सरकारले लकडाउन (बन्दाबन्दी) को समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था सुरु गरिएको छ ।
खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने गृह मन्त्रालयले सोमबार आयोजित कार्यक्रममा जानकारी दिएको हो । ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।
सो सेवा बारे जानकारी गराउदै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए । यो प्रणाली मङ्गलवारदेखि सुरु भएको छ ।









