भोलिबाट बैंक खुल्न सक्ने

देश । कोरोना भाइरस (कोभिड १९) को त्रास अहिले विश्वमै छ । यसले गर्दा एक महिना यता विश्वनै समस्यामा फसेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेर रोकथामको लागि काम गरिरहेको छ । यसैक्रममा नेपाल सरकारले पनि आज ११ गतेदेखि १८ गते विहान ६ बजेसम्मलाई ‘नेपाल लकडाउन’ गरेको छ । यसैबीच वाणिज्य बैंकका सीमित शाखा सञ्चालनमा आउने भएका छन् । बैंकहरूले निश्चित समयमा सीमित शाखा खोलेर सेवा दिन सक्ने राष्ट्र बैंक नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए ।

एउटा ठाउँमा एउटा बैंकले सेवा दिनेगरी बैंकहरूले नै व्यवस्थापन गर्ने तयारी गरिएको छ । सञ्चालनमा रहेका एटिएम सेवालाई प्रभावकारी बनाउन पनि भनिएको छ । यसैले यस्तो अवस्थामा सर्वसाधारणलाई आवश्यक रकम एटिएमबाटै झिक्न ढकालले आग्रह गरे।

‘जिल्ला प्रशासन कार्यालयबाट कर्मचारीलाई यात्राको अनुमति लिएर बैंकका सीमित शाखा, केही समयका लागि मात्रै संचालन गर्ने गृहकार्य गरिरहेका छौं’ नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने। जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने व्यवस्था गरिएकाले सर्वसाधारणले एटिएम सेवा सहज रूपमा प्रयोग गर्न सक्ने उनले बताए । सबै एटिएममा रकम भरपूर राख्ने व्यवस्था हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्