गसिप । बेनिशा हमाललाई दर्शकले हलमा देख्न नपाएको लामै समय भइसक्यो। उनको पछिल्लो रिलिज ‘घर’ थियो, जुन असारमा प्रदर्शन भएको थियो। तर, यस फिल्ममा बेनिशा सानो भूमिकामा थिइन्। फिल्ममा अर्पण थापा र सुरक्षा पन्त हाबी थिए।
त्यसयता बेनिशा ‘टुल्की’ शीर्षकको फिल्ममा अनुबन्ध भएको समाचार आएका थिए। तर, लामो समय भइसक्दा पनि त्यो फिल्म फ्लोरमा जान सकेको थिएन। अन्ततः यो फिल्मबाट बेनिशा बाहिरिएको खबर छ। फिल्म युनिटले नयाँ कलाकारका लागि ‘कास्टिङ कल’ गरेको खबरसँगै उनी फिल्मबाट अलग भएको रहस्य खुलेको हो। निर्माण टिमले अहिले नयाँ हिरोइन खोजिरहेको छ।
बेनिशा आजभोलि न फिल्ममा देखिएकी छिन्, न कुनै म्युजिक भिडियोमा। साइन गरेको फिल्म पनि छाडिन् भने बुझ्नपर्छ, उनी केही विशेष तयारीमा छिन्। अहिले हिरोइनको विवाहको मौसम चलिरहेको छ। कतै बेनिशा पनि यसैको तयारीमा त छैनन् ? (सम्पूर्ण साप्ताहिकबाट साभार)








