बाँस्कोटाको घरमा बम विष्फोट , आशंकामा विप्लव समुह

4 Shares

देश । केहि समय अगाडी अडियो प्रकरण परी मन्त्री पदनै गुमाउन पुगेका गोकुल बाँस्कोटाको निर्माण भईरहेको घरमा बम विष्फोट भएको छ । भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएको छ । बम विष्फोटको समयमा पूर्वसञ्चारमन्त्री बाँस्कोटा सो घरमा थिएनन् । उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।

बाँस्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि बमले क्षति पुगेको छ । बमले घिमिरेको चार तला माथिको ढोका उप्किएको छ । सिसा पनि बमले फुटेको छ । साथै घरको प्लास्टर गरेको पिल्लर चर्किएको छ । घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान पनि क्षतिग्रस्त भएको छ ।

बम विष्फोट कसले र किन गरायो भन्ने नाखुलेता पनि जिल्ला प्रहरी कार्यालय भक्तपुरले बम विष्फोट बाँस्कोटाकै घरलाई लक्षित गरेर गराइएको जनाएको छ । साथै, प्रहरी अधिकारीहरुले यस विष्फोटमा विप्लव समूहकै हात रहेको अनुमान गरेका छन् । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको खुलेको जानकारी दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले घरको कम्पाउन्डभित्र प्रेसर कुकर बम राखेर त्यसलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको बताए । ‘घटनास्थलमा एक झोला भेटिएको थियो, जसभित्र प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने केही सामाग्री थिए’ उनले भने । पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निवासमा बुधबार बिहान ७ः४५ बजे बम विस्फोट भएको थियो । विष्फोटपछि सो क्षेत्रमा सेना र प्रहरीको टोली पुगेर अनुसन्धान जारी राखेका छन् ।

कमेन्ट गर्नुहोस्