‘रंगशालापछि अभिनयलाई निरन्तरता’

फिल्म । आउँदो शुक्रबारबाट फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनमा आउदै छ । फिल्ममा धुर्मुस र सुन्तलीको उपनामले परिचित जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे छन् । टेलिफिल्म ‘मेरी बासैँ’ मार्फत दर्शक माँझ स्थापित यो जोडीलाई पर्दामा नदेखिएको लामो समय भईसकेको छ । ४ वर्ष अगाडी गएको महा भुकम्पपछि यो जोडी अभिनय भन्दा पनि सामाजिक कार्यमा लाग्यो । त्यसपछि सानो र ठुलो पर्दामा यिनीहरुलाई देख्ने ईच्छा दर्शकको पुरा भएको छैन । यसपटक यो जोडी निर्माता समेत बनेर आउदैछन् । फिल्ममा पनि यी दुइ जोडी नै छन् । फिल्मको ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ, यसमा राजनीतिक विषयवस्तु छ ।

यद्दपी सीताराम भने राजनीति मात्र नभई सामाजिक र पारिवारिक विषयवस्तु पनि भएको बताउँछन् । ‘हामीले फिल्म सामाजिक कार्यको लागि बनाएका हौँ तर यसमा मनोरंजन पनि उत्तिकै छ । फिल्ममा विषयवस्तु त उठान गरेका छौँ तर दर्शकले रुचाउने गरि’ उनले भने । रंगशाला निर्माणमा खटिनुपर्दा फिल्मको धेरै पाटो निर्देशक रामबाबु गुरुङले नै सम्हालेको उनले जनाए । फिल्ममा गरिब, सुकुम्बासीको उत्थान गर्ने नाममा राजनीति सुरु गर्ने समाजका ‘भाइरस’ लाई प्रस्तुत गरिएको उनले सुनाए । उनि हल्का फूलका कमेडी लिएर दर्शक सामु आउने पक्षमा थिएनन् । सामाजिक कार्यमा खटिरहँदा अभिनयको भोक भने ताजै रहेको उनले सुनाए । ‘अबको तीन महिनामा मैदान र सम्भवतः २ वर्षभित्र सबै संरचना तयार हुनेछ । ‘त्यसपछि निरन्तर कलाकारितामै आउने हो ।’ फरक–फरक भूमिका निभाएर गिनिज बुकमा नाम लेखाउने लक्ष्य भए पनि भूकम्पपछि आफ्नो यात्रा मोडिएको उनले सुनाए । यद्दपी राजनीतिको जग बसाल्न आफूले यो सबै नगरेको समेत उनले प्रस्ट्याए ।

धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपछि नमुना बस्ती निर्माण, तराईको बाढीमा राहत, उद्धारलगायतमा पटकपटक रकम संकलन गरे पनि क्रिकेट रंगशाला बनाउन अन्तिमपल्ट सबैसँग हात फैलाएको उनी बताउँछन् । ‘सामाजिक कार्य हाम्रो ईच्छा हो भने कलाकारिता धर्म’ धुर्मुसले भने । फिल्मले आफ्नो फ्यानसंगै दर्शकलाई निराश नबनाउनेमा उनि विश्वस्त छन् । ‘हामीलाई राम्रो लागेको सब्जेक्टलाई पर्दामा उतारेका छौ’ उनले भने ,’दर्शकलाई कस्तो लाग्छ यो भने शुक्रबारबाट थाहा हुनेछ ।’ उनले फिल्मलाई धुर्मुस – सुन्तलीको भनेर हेर्न आग्रह गरे । ‘दर्शकलाई हाम्रो आग्रह के हो भने, यसमा धेरै सोचेर नआउनुहोला । साधारण जीवन जिउने धुर्मुस–सुन्तलीले बनाएको फिल्म भनेर हेरिदिनुहोला’ धुर्मुसले भने ।

फिल्म बन्ने समयमा यो जोडी रंगशालाकै काममा व्यस्त थिए । ‘फिल्म कसरी बनाइरहेका छौ भन्ने पनि राम्रोसँग सोच्न सक्ने अवस्थामा थिएनौ । कहिले रंगशालाको काम त कहिले सुटिङको काम । यसैले पनि दर्शकले यो कुरालाई वुझेर आइदिनुहुनेछ भन्ने लागेको छ’ धुर्मुसले भने । पहिलो प्रयासमा जानेको र सकेको मेहनत गरेकोमा भने दुइमत नरहेको प्रस्ट्याए । फिल्ममा धुर्मुस र सुन्तलीसंगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, वसन्त भट्ट, कमलमणि नेपाल, सन्दिप क्षेत्री, पवन खतिवडा, एलिशा राई, सुनीता घिमिरेलगायतको अभिनय छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्