फिल्म । भ्यालेन्टाइन डेलाई लक्षित गर्दै शुक्रबारबाट फिल्म ‘लभ डायरीज’ प्रदर्शनमा आएको छ । प्रेम कथामा आधारित फिल्म भएकोले सोहि दिन रिलिज गरिएको निर्देशक सौरभ चौधरीले बताए । पढाइले इन्जिनियरिङ गरेका सौरभ यसैफिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको नाम र कथावस्तु अनुसार प्रणयको माहोलनै रिलिजको लागि टिमलाई उपयुक्त लाग्यो । दर्शकले पनि फिल्म हेरेपछि राम्रो लागेको प्रतिक्रिया दिएका छन् । शुक्रबार र शनिवार फिल्मले दर्शकको साथ् पाएपछि निर्माण टिमनै प्रतिक्रिया लिन राजधानी स्थित विभिन्न हलमा पुगेका थिए । ‘दर्शकले दिएको प्रतिक्रियाले उत्साहित छु’ अभिनेता सुशील श्रेष्ठले भने ,’फिल्मकै लागि दुइ वर्ष मेहनत गरेको थिए , त्यसको फल पाउँदा दंग छु ।’ दर्शक प्रतिक्रिया लिनेक्रममा सुशीलसँगै डेब्यु गर्ल रुबिना थापा र विश्वजित रिमाल रहेका थिए । कुमारी हलमा शनिवार फिल्म हेरेर निस्किएका अधिकांस दर्शकले यसको तारिफ गरे ।
डेब्यु फिल्ममै पाएको मायाले आफुमा उर्जा थपेको रुबिनाले बताइन । ‘म विभिन्न हलमा पुगेर अडियन्सको रेस्पोन्स पनि हेरिरहेकी छु’ उनले भनिन् ,’दर्शकको प्रतिक्रिया हलमा पनि उस्तै छ भने बाहिर पनि ।’ उनिसँगै डेब्यु फिल्ममै क्यारेक्टरको नाम राम भनेर चिनिदा विश्वजित पनि दंग छन् । शुक्रबार र शनिवार फिल्मको उत्साहजनक व्यापार रहेको यसका वितरक रीच इन्टरटेनमेन्टका करण श्रेष्ठले बताएका छन् । ‘शो बढ्दो छ यसले पनि दर्शकको माया पाएको अनुमान लगाउन सकिन्छ’ उनले भने । डेब्यु निर्देशक चौधरीले पनि यो फिल्मको कथालाई युवापुस्ताले रिलेट गर्ने बताउछन । ‘मैले युवापुस्ताकै प्रेम कथालाई प्रस्तुत गर्ने कोसिश गरेको छु’ उनले भने ,’पछिल्लो समय प्रेमलाई बुझ्न र साँचो माया पाउँन कति गाह्रो छ भन्ने यसको सार हो ।’ प्रेममा आउने उतारचढावसँग आफ्नो प्रेमलाई फिल्म हेर्ने दर्शकले सम्झिनेमा उनि विश्वस्त छन् ।
प्रेमकथानक यस फिल्ममा सुशील श्रेष्ठसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । फिल्ममा विश्वजित रिमालको पनि मुख्य भूमिका छ । फिल्मका दुइ मुख्य पात्र सुशील र रुबिना बीचको प्रेम, रोमान्स र विछोडलाई फिल्ममा देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गरेको छ ।











