देश । नेपाली टेलिभिजन र म्युजिक भिडियोमा मात्र होइन , भुषण दाहालको नाम फिल्ममा पनि उत्तिकै महत्वपूर्ण छ । क्वेस्ट इन्टरटेनमेन्टले निर्माण गरेको ‘कागबेनी’ मार्फत उनले निर्देशनमा डेब्यु गर्दै गर्दा डिजिटल फिल्म स्थापित भयो । तात्कालिन समयमा उनले सौगात मल्ल , निमा रुम्बा , दीया मास्केलाई कास्ट गरे । त्यस अघि फिल्म त रिलमा खिचिन्थ्यो नै साथै हिरो भन्ने वितिकै राजेश हमाल , भुवन केसी , शिव श्रेष्ठ , निखिल उप्रेती जस्ता नाम आउने गर्थे । तर निर्देशक दाहालले क्यारेक्टर र भूमिकालाई ध्यान दिए । सन् २००८ मा ‘कागबेनी’ निर्देशनपछी टेलिभिजनमै व्यस्त रहेका दाहालले अन्तत टेलिभिजन छाडेका छन् ।
गत विहिवार राजिनामा बुझाएका दाहाललको राजनीमा आइतवार स्वीकृत भएको थियो । त्यसपछि उनलाई सोमाब म्यानेजमेन्ट टिमले विदाई गरेको हो । उनले सोमबार आफ्नो कार्यक्रम ‘फायर साइड’ अन्तिम शृंखला कान्तिपुर टेलिभिजनको लागि रेकर्ड गराएका थिए । संविधान विद विपिन अधिकारीसँग गरिएको कुराकानी सोमबार बेलुकी प्रशारण भइसकेको छ ।
यद्दपी दाहालले यस कार्यक्रमलाई अन्य स्थानमा पनि संचालन गर्न पाउनेछन् । सोमबार नै खिचिएको कार्यक्रमको सम्पादन सकिएपछी उनले आफ्ना सम्पूर्ण कर्मचारीलाई भेट्दै विदाई मागेका थिए । कर्मचारीको कोठामा अन्तिम भेट गर्न पुगेका दाहाललाई विदाई गर्दा आँखा रसाएको एक कान्तिपुर टेलिभिजनकर्मीले बताए । दाहाल कान्तिपुर टेलिभिजनमा एजिएम पदमा कार्यरत थिए ।
किन छाडे कान्तिपुर ?
सन् २००३ मा स्थापना भएको कान्तिपुर टेलिभिजनको ‘लाइसेन्स’ को प्रक्रिया देखि नै दाहाल सक्रिय थिए । यद्दपी केहि वर्ष यता उनले चाहना अनुरुप काम गर्न सकेका थिएनन् । म्यानेजमेन्टको सहयोग नभएपछी उनले आफ्नो सोचलाई टेलिभिजनमा ल्याउन नसकेको उनका नजिकका व्यक्तिले बताए । टेलिभिजनको भविष्य बुझेर कार्यक्रम निर्माण गर्न सुझाउने दाहाल केहि समय अगाडी देखि नै पावरलेस झैँ थिए । कान्तिपुर टेलिभिजन एचडीमा जाने तरखरमा रहदा सम्भव सिरोहिया सिइओ बनेर आएका थिए ।
त्यसपछि दाहालले आफ्नो योजनालाई मुर्तरुप दिननसकेको श्रोतको भनाइ छ । सम्भवको योजना असफल भएपछी उनि टेलिभिजनबाट त हटे तर दाहालले अधिकार पाएनन् । मौखिक रुपमा दाहाललाई नै अधिकार दिएको म्यानेजमेन्ट टिमले लिखित चिठी नदिएको समेत श्रोतको भनाइ छ । यी यस्तै कारणले रुष्ट रहेका दाहालले न्युनतम पारिश्रमिकका सम्बन्धमा पटक पटक म्यानेजमेन्ट टिमसँग कुरा गरेका थिए । जिम्मेवार मिडियाकर्मी भएका कारण उनमा न्युनतम पारिश्रमिक कर्मचारीलाई दिनुपर्ने नैतिक दायित्व पनि थियो यद्दपी त्यसलाई टेलिभिजनमा माथिल्लो टिमले बुझेनन् ।
‘फायरसाइड गर्ने बेलामा आउने केही सरकारी व्यक्तिले भुषणको नेतृत्वमा रहेको मिडियामा न्युनतम पारिश्रमिक नहुने ? भन्दै प्रश्न गरेका थिए’ श्रोतले भन्यो ,’केहि समय भुषण सरले म्यानेजमेन्टको डिसिजन पर्खिनु भयो तर सहयोग भएन ।’ देखिएका यी यस्ता कारण सहित विविध कारणले उनले टेलिभिजन छाड्ने निर्णय गरेको बुझिएको छ । उनको पद रिक्त भएसँगै अब त्यहाँ को आउने भन्ने जिज्ञाषा कान्तिपुर टेलिभिजनकर्मीलाई छ ।








