कामना अवार्ड सम्पन्न (फोटो फिचर)

फिल्म । नेपाल समाचारपत्रको सह प्रकाशन कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा पांचौ सस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ शनिवार ललितपुरस्थित हेरीटेज गार्डेनमा भव्य रुपमा सम्पन्न भएको छ । सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा यसवर्ष दुई अवार्ड थपिएका छन् । कामना न्युज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष, पहिलो नेपाली फिल्म अवार्डका प्रणेता, समाजसेवी तथा लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर स्व. भरतलाल क्षेष्ठको नाममा भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा कामना न्युज पब्लिकेसन्स्का प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडीया अवार्ड स्थापना गरी २ व्यक्तित्वलाई प्रदान गरियो ।

समाजसेवाका क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपियाँसहित पहिलोपटक पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ भने सञ्चार क्षेत्रमा योगदान पुर्याउनेलाई प्रदान गरिने पुष्कर मिडीया अवार्ड २०७६ नगद १ लाख रुपिया सहित इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रवन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको छ । उहाँहरुलाई काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर महानगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेश कृष्ण श्रेष्ठ र समिप श्रेष्ठले अवार्ड प्रदान गर्नुभएको थियो ।

प्रधान सम्पादक श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्यदृश्य सामग्री प्रदर्शनपश्चात यी दुई सम्मान प्रदान गरेर शुरु गरिएको कार्यक्रममा नेपाली फिल्म क्षेत्रको पर्दा अगाडी र पर्दा पछाडी रहेर योगदान पुँयाउने दुई फिल्मकर्मीलाई किर्तीमय दिर्घ योगदान सम्मान ( लाईफटाईम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो । प्रधान सम्पादक श्रेष्ठको निधनका कारण अभिनेता राजेश हमालले भावुक भएर कार्यक्रम सञ्चालन शुरु गरेको समारोहमा अभिनेता, निर्मिाता, निर्देशक तथा गीतकार नीर शाहलाई नगद १ लाख रुपियासहित कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँसहित पर्दापछाडीको कलाकारतर्फको किर्तिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरीएको थियो । उहाँहरुलाई कामनाका प्रेसिडेन्ट एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामनाका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो अवार्ड समर्पण गर्नुभएको थियो।

सम्मान प्रदान गरिदा समारोहका सहभागीहरुले स्वस्फुर्त रुपमा उठेर सम्मान गरेका थिए । समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जुरीको ९० र भोटीङको १० प्रतिशत अंक जोडी अवार्ड प्रदान गरीएको समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड प्रसादले चुमेको छ। १० विधाको मनोनयमा परेको प्रसादले अवार्डका मूख्य विधाहरु सर्वोत्कृष्ट फिल्मसहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ। यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपीन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा शुशिल पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए ।

समारोहमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको फिल्म नाई नभन्नु ल ५ ले पनि सह अभिनेत्री, बाल कलाकार, गीतकार, संगीतकार तथा छायाकन गरी ५ विधाको अवार्ड चुमेको छ। यो फिल्मबाट प्रियंका कार्की सर्वोत्कृट सहअभिनेत्री, सेड्रिना शर्मा बालकलाकार, दिनेश थापा गीतकार, वसन्त सापकोटा संगीतकार र पुरुषोत्तम प्रधान छायांकारको अवार्ड चुम्न सफल भए । यो फिल्मबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाई नभन्नु ल ५ गरी २ फिल्मबाट संगीतकारको मनोनयनमा परेका थिए । गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढको समारोहमा १२ विधाको मनोनयनमा परेको छक्का पञ्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक संवाद र ध्वनि मिश्रण गरी ३ विधाको अवार्ड चुमेको छ। हास्य विधाको अवार्ड केदार घिमिरेले चुमे । उनी फिल्म रामकहानीबाट पनि मनोनयनमा थिए भने नृत्य निर्देशकको अवार्ड चुमेका कविराज गहतराज ४ फिल्मबाट मनोनयनमा परेका थिए ।

यससँगै कविराज कामना फिल्म अवार्डमा लगातार ५ औं अवार्ड चुम्न सफल भएका छन् । १२ विधाकै मनोनयनमा परेको फिल्म डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नव निर्देशकसँगै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ । समारोहमा फिल्म साईंलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पाश्र्व गायकको अवार्डलाई पनि आफ्नो बनाएको छ ।

राजेश हमालको कार्यक्रम प्रस्तुतिबाट शुरु भएको कार्यक्रमलाई नरेश भट्टराई र मन्दीरा ढुंगेलले अगाडि बढाएका थिए भने तारा थापा, प्रविशा अधिकारी, समीक्षा अधिकारी, आनन्द कार्की, देविका वन्दना, शम्भुजित बासकोटा, प्रल्हाद तिमिल्सिना, टीका भण्डारी, गौरी मल्ल, वसन्त सापकोटा, र मदनकृष्ण श्रेष्ठले मेड्ले गीत गाएर रोचक तुल्याएका थिए भने नायक भुवन केसीले छुट्टै गीत गाएर रोमाञ्चक तुल्याएका थिए । त्यसै गरी अभिनेत्री मिथीला शर्माले एकल नृत्य गरेर वाहवाही पाइन् भने विनु शाक्य, यसराज गरच, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, पल शाह र पूजा शर्माले अर्को मेड्ले डान्स गरेर दर्शकलाई रोमाञ्चित तुल्याए ।

विजेताहरु

फिल्म फिल्म : प्रसाद शुभाष थापा प्रोडक्सन निर्देशक : दिनेश राउत (प्रसाद) नव निर्देशक : छेतन गुरुङ (डमरुको डण्डिवियो) अभिनेता : विपिन कार्की (प्रसाद) अभिनेत्री : नम्रता श्रेष्ठ (प्रसाद) नव अभिनेता : उमेश थापा (बोबी) नव अभिनेत्री : सुहाना थापा (ए मेरो हजुर ३) सह अभिनेता : दयाहाङ राई (साइली) सह अभिनेत्री : प्रियंका कार्की (नाई नभन्नु ल ५) हास्य कलाकार : केदार घिमिरे (छक्का पञ्जा ३) खलपात्र : प्रमोद अग्रहरी (कथा काठमाडौं) बालकलाकार : सेड्रिना शर्मा (नाई नभन्नु ल ५) कथा : खगेन्द्र लामिछाने (डमरुको डण्डिवियो) पटकथा : सुशील पौडेल (प्रसाद) संवाद : दीपकराज गिरी÷केदार घिमिरे÷जितु नेपाल÷यमन श्रेष्ठ (छक्का पञ्जा ३) गीतकार : दिनेश थपलिया नाइ नभन्न ल ५ (तिम्रो आँखामा) संगीतकार : वसन्त सापकोटा नाइ नभन्न ल ५ (तिम्रो आँखामा) पाश्र्व गायक: हेमन्त राना साईंली (बगी रहें) पाश्र्व गायिका : अञ्जु पन्त बाँध मायाले (सँगसंगै) नृत्य निर्देशक : कविराज गहतराज (छक्का पञ्जा ३- पहिलो नम्वरमा) द्धन्द निर्देशक : शुक्रराज शाह (भिलेन) छायांकन : पुरुषोत्तम प्रधान (नाई नभन्नु ल ५) सम्पादन : निमेष श्रेष्ठ (डमरुको डण्डीवियो) पाश्र्व संगीत : एलिष कार्की (डमरुको डण्डीबियो) ध्वनि मिश्रण : सुनयमान श्रेष्ठ (छक्का पञ्जा ३) श्रृंगार : श्याम लामा (चक्कर) जुरी अवार्ड : हरी (फिल्म) गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्ड : स्वस्तीमा खड्का सिजी क्रिटीक्स अवार्ड फर म्युजिक : न्हयु बज्राचार्य सिजी क्रिटीक्स अवार्ड फर फेशन : ज्ञानी शोभा तुलाधर सिजी क्रिटीक्स अवार्ड फर थिएटर : सिर्जना सुब्बा भरतलाल ह्युम्यानिटेरियन अवार्ड : लायन सोनाम साङ्पो पुष्करलाल मिडिया अवार्ड : रामकृष्ण मानन्धर (इमेज ग्रुप अफ कम्पनिज) कीर्तिमय दीर्घ योगदान सम्मान कलातर्फ : निर शाह कीर्तिमय दीर्घ योगदान सम्मान पर्दा पछाडिको कलाकारतर्फ : सन्तु तामाङ

तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्