देश । गत भदौमा विरगञ्जमा एसिड आक्रामणमा परेकी १४ बर्षिया मुस्कान खातुनले आफुलाई यस्तो गर्ने दोषीलाई हदैसम्मको कारवाही हुनु पर्ने मांग गरेकी छिन् । उनले नेपाल सरकारसंग दोषीलाई फासी दिन आग्रह गरेकी छिन् । ‘फासी वा जन्मकैद दिनुस् किनकी म जस्तो पिडा अरुले भोग्नु नपरोस्’ उनले भनिन् ,’यस्ता अपराध गर्ने सोच मनमा पनि नल्याउने गरि कारवाही गरिदिनुस् ।’ कक्षा ९ मा पढ्ने उनि माथि गत भदौ २० गते विरगञ्जमा बिद्यालयबाट फर्किने क्रममा एसिड आक्रामण भएको थियो । उनि यतिबेला उपचाररत छिन् ।
झन्डै अब दुइ वर्षसम्म उनको उपचार हुनेछ । जसको लागि उनलाई आवश्यक खर्च चाहिने छ । ‘म जस्तालाई नेपाल सरकारले सहयोग गरोस भन्ने मांग पनि छ’ मुस्कानले भनिन् । उनले आफ्नो धेरै पढ्ने सपना रहेको समेत सुनाइन । ‘म डाक्टर बन्न चाहन्छु’ उनले भनिन्,’म पढेर यहिँ देशको सेवा गर्न चाहन्छु , त्यसैले मलाई हौसला चाहिएको छ ।’सोमबार फिल्म ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो मुस्कानई सहयोगार्थ आयोजना गरिएको थियो ।
‘लाइन्स क्लब अफ काठमाण्डौ’ले मुस्कानलाई सहयोग गर्ने उद्देश्यले उक्त शोको आयोजना गरेको थियो । विशेष शोबाट उठेको रकमसंगै केही रकम थपेर जोडेर मुस्कानलाई हस्तान्तरण गरिने आयोजक संस्था लाइन्स क्लवले बताएको छ । मुस्कानको कुरा सुनिरहेका नेकपा नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुले सक्दो सहयोग गर्ने बताए । ‘मैले सक्ने सहयोग र पहल गर्नेछु’ उनले भने ,’यसमा नेपाल सरकारसंगै विभिन्न संघ संस्थाले पनि सहयोग गर्नु पर्छ ।’ उनले मुस्कानको पढाइ र उपचारका लागि चाजोपाजो मिलाउनु पर्ने औल्याए ।










