फिल्म । निर्देशक सुदर्शन थापा निर्देशित तथा निर्मित फिल्म ‘म यस्तो गीत गाउछु २’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक रोमान्टिक गीतमा ‘तिम्रो घरको वरिपरि’ लाई दर्शकले रुचाइरहेका छन् । ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल रहेको यो फिल्ममा पल शाह र पुजा शर्माको जोडी नै दर्शक माँझ आएको छ । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । सोनम तोप्देनलाई सुदर्शनले आफ्नो नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ बाट अभिनेताको रुपमा डेब्यू गराउँदैछन् । यसमा भने सोनाम गायकको रुपमा छन् ।
नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर खिचिएको गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुने भने यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । सार्वजनिक गीतमा पल र पुजाको सुहाउँदो केमेष्ट्री देखिएको छ । ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गतेलाई प्रदर्शनमा आउँदैछ । हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । फिल्ममा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाण्डौ र एफडी कम्पनीले काठमाण्डौ बाहिर यसको वितरण गर्नेछ । सांगीतिक प्रेम कथामा तयार भएको यो फिल्ममा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन् ।












