फिल्म । हलिउडमा सफल सिरिज मध्यको एक हो ‘जेम्स बोण्ड’ । स्पाई थ्रिलर यसफिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सेरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफुलाई जेम्स बोण्डको रुपमा अगाडी ल्याईसकेका छन् । पछिल्लो समय बोण्डको रुपमा ड्यानियल क्रेग छन् । उनि सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोण्डको भूमिकामा देखिदै आएका छन् ।
जेम्स बोन्डका रुपमा क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ को ट्रेलर सार्वजनिक भएको छ । ब्रिटिश जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५ औं फिल्म हो भने क्रेगको बोन्डका रुपमा पाँचौं । जेम्स बोन्ड हलिउडको सबभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् ।
क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडु लगायतका कलाकारले अभिनय गरेका छन् । फ्रेन्च अभिनेत्री सिडु यसअघिको बोन्ड फिल्ममा पनि थिइन् । रामी मलिकले गत वर्षमात्रै ‘बोहेमियन र्याप्सोडी’का लागि उत्कृष्ट अभिनेताको ओस्कर पाएका थिए भने अर्का ओस्कर विजेता क्रिस्टोफ वाल्ट्ज यसअघिको बोन्ड फिल्ममा खलनायक थिए । (एजेन्सी)












