गसिप । केही समयपहिले अनमोल केसीले स्क्रिप्ट चित्तबुझ्दो नभएको भन्दै ‘ब्याचलर बन्टी’ अन्तिम समयमा आएर नखेल्ने निर्णय गरेका थिए। हिरोइनसमेत फाइनल भएको अवस्थामा उनले फिल्म नखेल्ने निर्णय गर्दा निर्माताले लाखौँ गुमाएका थिए। ‘एन्टी हिरो’ पछि धकेलेर ‘धुपौरे’ साइन गरेका उनले यो फिल्मलाई पनि अन्तिम समयमा आएर धोका दिएको खबर छ। मंसिरमा फ्लोरमा जान लागेको फिल्मलाई उही स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले झुलाएको चर्चा छ।
जबकि फिल्मका लागि अडिसनमार्फत कलाकार छानिँदै थियो भने अनमोल आफैँ लोकेसन हेर्न गएका थिए। यसअघि उनले ‘ग्याङस्टर ब्लुज’ लाई पनि यसै गरी झुलाउँदा– झुलाउँदा पैसा फिर्ता दिएका थिए। अनमोललाई उद्योगमा प्रोफेसनल कलाकारका रूपमा चिनिन्छ। तर, पछिल्लो समय उनले त्यो पहिचान गुमाउँदै गएका छन्। यसको शिकार ‘धुपौरे’ भएको छ। प्रोफेसनल कलाकारले सबैभन्दा पहिला स्क्रिप्ट चित्त बुझेपछि मात्र फिल्म गर्ने÷नगर्ने निर्णय गर्छन्। तर, अनमोलको ठीक उल्टो छ। मेगास्टारलाई निर्माताको मर्म कसले सम्झाइदिने ?
(सम्पूर्ण साप्ताहिकबाट)