‘एरेस्ट वारेन्ट’ जारी भएपछि निर्माता शाही पक्राउ

फिल्म । वितरक गोविन्द शाहीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंबाट एरेस्ट वारेन्ट जारी भएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी रुगम कुँवरले उनलाई पक्राउ गरिएको पुष्टि गरे । निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा उनीमाथि ठगी गरेको अभियोगमा अनुसन्धान भएको थियो ।

महानगरीय अपराध महाशाखा टेकुले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा यसअघि ४ भदौमा पनि निर्माता शाहीलाई पक्राउ गरेको थियो । निर्देशक तथा निर्माता मिलन चाम्स र निर्माता सुदीप खड्काले फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) नदिएको र नदेखाएको भन्दै करीब एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध गत भाद्रमा टेकुमा उजुरी दिएका थिए ।

निर्माता शाहीलाई गत वर्ष फिल्म ‘चक्कर’ का निर्माता रविन आचार्यमाथि हातपात गरेको अभियोगसमेत प्रहरीले पक्राउ गरेको थियो । हातपात गरेको स्वीकार गर्दै निर्माता आचार्यसँग आत्म आलोचनापछि उनी रिहा भएका थिए । त्यसअघि पनि उनले वितरक तथा निर्माता गोपालकाजी कायस्थमाथि हातपात गरेका थिए । उनि यस्तै किसिमका विवादमा मुछिने गरेकाछन् । ‘संसार आफ्नो’, ‘पराई’, ‘कहाँ छौँ कहाँ ?’ लगायतका फिल्ममा अभिनय समेत गरेका निर्माता शाही निर्मित पछिल्लो फिल्म ‘लभ स्टेसन’ हो ।

कमेन्ट गर्नुहोस्