हङकङमा ‘गाउँ आएको बाटो’

फिल्म । नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को अन्तर्राष्ट्रिय सार्वजनिक प्रदर्शन सम्पन्न भएको छ । टोरोन्टो, बुसान लगायत विश्व प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा प्रदर्शन भईसकेको चलचित्र हङकङ, थाइल्यान्ड, इन्डोनेसिया, यूके, इटालीलगायका देशमा सर्वजनिक प्रदर्शनमा आएको हो । ‘गाउँ आएको बाटो’लाई हङकङको गोल्डेन सिन सिनेमाले शनिबार र आइतबार (नोवेम्बर २–३ ) मा सार्वजनिक प्रिमियर गरेको छ । गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेर सार्वजनिक रुपमा प्रदर्शन गरेको हो ।

यसअघि यो चलचित्र हङकङको नेपाली दर्शकलाई लक्षित गरी प्रदर्शन गरिएको थियो । गोल्डेन सिन सिनेमाको हलमा १२ शोमा बाँडेर देखाईएको चलचित्रलाई झन्डै ८ सय दर्शकले हेरेका थिए । प्रदर्शनमा सहभागी हुन नेपालबाट निर्देशक नवीन सुब्बासहित अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बू हङकङ पुगेका थिए ।

चलचित्रलाई अंग्रेजी र चिनियाँ सबटाइटलमा हङकङका पाँच वटा हलमा प्रदर्शन गरिनेछ । गोल्डेन सिनले आफ्नो वेवसाइडमा ‘गाउँ आएको बाटो’को चिनियाँ पोस्टर सार्वजनिक गर्दै २५ अक्टोबरदेखि बक्स अफिस खुला गरेको थियो ।

चलचित्र निर्माता अमोद राईका अनुसार टोरोन्टो, बुसान जस्ता विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शनपछि ‘गाउँ आएको बाटो’ अन्तर्राष्ट्रिय दर्शकमाझ आउन लागेको हो ।

उनले भने, ‘गाउँ आएको बाटो अन्तर्राष्ट्रिय दर्शकमाझ आउँदा हामी उत्साहित छौं । यो सपना हामीले लामो समयदेखि देखेका थियौँ । यो सफलता त्यो यात्रामा हामीले गरेको दुःखको प्रतिफल हो जस्तो लाग्छ ।’

हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, प्रेम सुब्बालगायतको अभिनय छ । चलचित्रको सहनिर्माताका रुपमा हङकङबाट अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन् ।

नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्रमा संलग्न भएर काम गरेका छन् । चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङ र संगीतको काम हङकङकी संगीतकार हाइडी लीले गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्