फिल्म । अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अहिले धमाधम छायांकन भइरहेको छ । सोलुखुम्बुमा छायाँकन भईरहेको फिल्मको दसैँ अगाडीको सेड्युल आउँदो शुक्रबार सकिदैछ । पछिल्लो फिल्म ‘जात्रै जात्रा’ मार्फत सफलताको स्वाद चाखेका विपिनको अभिनय रहेकै कारण फिल्म यतिबेला चर्चामा छ ।
पछिल्लो समय नेपाली फिल्मको चर्चाले यसलाई प्रवासी नेपालीसम्म पुर्याउने गरेको छ । यसबीच, फिल्मको अष्ट्रेलिया राइट्स बिक्री भएको छ । विदेशमा पछिल्लो समय बढ्दो माग रहेको यो फिल्मको अष्ट्रेलियामा ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेनमेण्टले २५ लाखमा प्रदर्शन अधिकार खरिद गरेको हो । यस्तै, युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हङकङ, मलेसियालगायतका देशबाट पनि फिल्मको प्रदर्शन राइट्स खरिदको प्रस्ताव आएको निर्माता सुवास थापाले बताएका छन् ।
जसमध्ये अधिकांश देशमा ‘प्रसाद’ का वितरकहरु नै ‘सेल्फी किङ’ खरिद गर्नका लागि इच्छुक देखिएका छन् । निर्माता थापाका अनुसार, केही दिनमै अन्य देशका वितरकसँग ‘सेल्फी किङ’ को प्रदर्शनको लागि सम्झौता हुनेछ । उनले निर्देशक दिनेश राउतसँग सहकार्य गरेर यो फिल्म बनाइ रहेका छन् । ड्रामा र कमेडी जनरामा बन्ने फिल्मले एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्नेछ । विशाल सापकोटाले निर्देशन गरिरहेको फिल्मको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहनेछ ।
यसमा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहनेछ । भने, अभिनेत्री केकी अधिकारीले विशेष भुमिकामा अभिनय गर्नेछिन् । निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन र निर्मल लामाको कोरियोग्राफी रहने फिल्मको सह-निर्मातामा राजेश बिसुराल र प्रवल कोइराला छन् । फिल्म आउँदो फागुन २३ मा रिलिज हुनेछ ।












