फिल्म । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को गीत र ट्रेलरपछि पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु रोमान्टिक मुडमा फिचर्ड छन् । अभिनेत्री केकी अधिकारी र अभिनेता दीपकराज गिरीलाई विशेष स्थान दिइएको पोस्टरमा कलाकारद्वय जितु नेपाल र केदार घिमिरेलाई पनि अटाइएको छ । यो फिल्ममा राजनीतिक पृष्ठभूमीमा प्रेम बुनिएको छ । जसलाई सार्वजनिक ट्रेलरले समेत प्रस्ट्याइ सकेको छ ।
नेपाली फिल्ममा कमेडी फिल्मको ट्रेन्ड सुरुवात गर्न महत्त्वपूर्ण भूमिका खेलेको दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको यो फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपेन्द्र लामा निर्देशित फिल्ममा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् ।
दीपक-दीपा समुहले पहिलो पटक बाहिरी ब्यानरमा सहकार्य गरेको यो फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा रहेको छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।