‘ज्ञानलाई लागु गरौँ’

फिल्म । चलचित्र पत्रकार संघले चलचित्र विकास बोर्डसँग सहकार्य गरेर पोखरामा आयोजना गरेको तीन दिने बृहत ‘चलचित्र पत्रकारिता कार्यशाला’ शुक्रबार साँझ सम्पन्न भएको थियो । बुधबार साँझ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेको कार्यशाला चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा समापन गरेका थिए ।

नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखराको नेपाल पर्यटन बोर्डको सभाहलमा भाद्र १९ र २० गते भएको ‘कार्यशाला’ मा विभिन्न विषयमा अन्तरक्रिया भएको छ । कार्यशालामा काठमाडौं र अन्य शहरहरु चितवन , धरान र पोखरा गरेर करीब १ सय २० जना चलचित्र पत्रकारहरु सहभागी भएका थिए । कार्यशालामा पत्रकार आचारसंहिता, डिजिटल/मल्टीमिडिया पत्रकारिता, फिल्म समीक्षा, चलचित्र पत्रकारिता – हिजो र आज, पर्यटन र चलचित्रको अन्तरसम्बन्धको विषयमा प्रशिक्षण दिइएको थियो ।

भने, चलचित्र पत्रकार र चलचित्र विकास बोर्डबीचको अन्तरसम्बन्धको विषयमा अन्तरक्रिया पनि गरिएको थियो । कार्यशालाको क्रममा चलचित्र पत्रकारलाई पोखराका विभिन्न पर्यटकीय स्थानको अवलोकन पनि गराइएको थियो । कार्यशालाका लागि श्रोत व्यक्तिको रुपमा शिक्षक मासिकका सम्पादक तथा प्रकाशक, प्रेस काउन्सिलका पुर्वअध्यक्ष तथा पूर्वराष्ट्रपति रामबरण यादवका प्रेस सल्लाकार राजेन्द्र दाहाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत रजनीश भण्डारी, पत्रकार तथा नेपाल लाइभका सम्पादक नारायण अमृत, फिल्म समीक्षक अनुप सुवेदी र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया रहेका थिए ।

कार्यशालामा विशेषगरि, सैद्धान्तिक र व्यवहारीक ज्ञान दिइएको थियो । ‘पत्रकार आचारसंहिता’को बिषयमा पत्रकार राजेन्द्र दाहालले प्रशिक्षण दिएका थिए । यस्तै, ‘डिजिटल/मल्टिमिडिया’का बिषयमा रजनीश भण्डारी, ‘फिल्म समिक्षा’को बिषयमा अनुप सुवेदी, ‘फिल्म पत्रकारिता हिजो र आज’को बिषयमा नारायण अमृत, ‘पर्यटन र फिल्म’ बिषयमा सूर्य थपलियाले प्रशिक्षण दिएका थिए । पत्रकार डब्बु क्षेत्रीले सहजकर्ताको भूमिका खेलेको कार्यशालाको एक सत्रमा विकास बोर्डको भावी योजना, बोर्ड र पत्रकारबीचको सम्बन्ध र बोर्डले चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणको विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आफ्नो भनाई राखेका थिए । त्यस्तै, कार्यशालाको अन्तिम सत्र ‘आत्मसमीक्षा’ मा पत्रकार शुशील पौडेल र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले सहभागी पत्रकारको जिज्ञासा मेटाएका थिए ।

चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले यस कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भोलीका दिनमा पनि पत्रकारको क्षमता अभिवृद्धिमा संघले विभिन्न कार्यशाला तथा गोष्ठीको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘हामीले छिटै नै फोटो पत्रकारलाई लक्षित गर्दै वर्कशप गर्ने छौ’ उनले भने । तर , उनले सिकेर मात्र नहुने भन्दै यस कार्यशालाबाट सिकेका कुरा व्यवहारमा उतार्न पनि पत्रकारलाई आग्रह गरे ।

बोर्ड अध्यक्ष केशव भट्टराईले पत्रकार संघले गरेको यस कार्यको मुक्तकण्ठले प्रशंसा गरे । उनले फिल्म सम्बन्धि अन्य संघ संस्थाले पनि यस प्रकारका कार्यक्रम गर्नुपर्नेमा जोड दिए । ‘पत्रकारिता गर्नुस किनकी हामी यतिबेला नीति निर्माणसँगै कामहरु गर्दैछौ , हामीलाई तपाइको साथ् र मार्ग निर्देश चाहिन्छ’ अध्यक्ष भट्टराई भन्छन् ‘तर , यहाँ पत्रकारहरुले पत्रकारिताको सट्टा जानकारी दिने काम मात्र गरिरहेका छन् ।’ उनले नीतिगत कुरामा पनि कमल चलाउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्