फिल्म । नेपाली फिल्म ‘रमिताको पिरती’ फरक विषयवस्तु र प्रस्तुतिका कारण यतिबेला चर्चामा छ । फिल्मले एक युवतीको जीवन, सङ्घर्ष, प्रेम र उतार–चढावलाई मुख्य कथावस्तु बनाएको छ । नायिका आना शर्माको फरक शैली, गेटअप र टिजरमा देखाइएको नयाँ प्रस्तुति विशेष गरी युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ । प्राय सहरिया युवतीको भूमिकामा देखिने आना यसमा कार्यकारी निर्माताको रुपमा समेत यसपटक प्रस्तुत हुँदैछिन् ।
‘मैले अभिनय गरेको यो महिला केन्द्रीत यो पहिलो फिल्म हो । यसमा म लिड रोलमा छु, र फिल्मको शिर्षक नै मेरो क्यारेक्टरसँग जोडिएको छ । यो प्रोजेक्टले मलाई धेरै कुरा सिकाएको छ, आगामी दिनका लागि एउटा लर्निंग भयो मलाई’, उनले भनिन् ।
आनाले कार्यकारी निर्मात्रीको रुपमा पहिलो फिल्म भएकाले सिक्दै काम गरेको बताइन । ‘मेरो पहिलो काम भएकाले मैले सिक्ने तर्फ लागे, केही कन्फ्लिक्ट भएन । हामी सबै टिमले राम्रोसँग काम सकेर अब प्रदर्शन गर्दैछौँ’, उनले भनिन् ।
सुदिप्ताको निर्देशनमा बनेको फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्ममा आनासँगै धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारको अभिनय रहेको छ ।
सुदिप्ताकै लेखनमा तयार भएको फिल्ममा शिशिर विशंखेको छायांकन, सुनिल सिवाकोटीको सम्पादन र कृतिका बरालको कोरियोग्राफी छ । फिल्मका कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुन् भने आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रूपमा रहेका छन् । फिल्मको संगीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको योगदान रहेको छ ।










