फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मारुनी’को शनिबारे व्यापारमा बढोत्तरी भएको छ । शनिबार सिंगल र मल्टीप्लेक्स तर्फ केहि शोजमा ९० देखि शतप्रतिशतसम्म अकुपेन्सी देखिएको निर्माण पक्षले जनाएका छन् । शनिबार दिउँसो फिल्मको प्रतिक्रिया बुझ्न कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ, निर्मात्री पूनम गौतम र निर्देशक नवल नेपाल राजधानीको गोपीकृष्ण हल परिसर पुगेका थिए । अभिनेत्री साम्राज्ञीले फिल्म हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् ।
यस्तै अभिनेता पुष्पले पनि दर्शकको मायाप्रति खुसि व्यक्त गरे । निर्मात्री पूनम गौतमले शनिबार फिल्मको व्यापारले आफू उत्साहित भएको र सकारात्मक वर्ड अफ माउथले आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् । फिल्म हेरेका दर्शकले यसको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई मन पराएका छन् । फरक कथा प्रस्तुत गरिएको भन्दै दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन् ।
नवल निर्देशित फिल्मको विषयवस्तुलाई दर्शकले रुचाएका छन् । उनले स्टारडम भन्दा पनि कन्टेनमा फोकस गरेका छन् । फिल्ममा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह-निर्मातामा छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । रेविका गुरुङ, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।