देश । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका छन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालकाअनुसार उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमढ देखिएको छ । यद्यपि यो सङख्या अझै बढ्न सक्ने उनको अनुमान छ । महाशाखाले २३ वटा अस्पतालबाट तथ्याकं संकलन गरेको थियो । काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको छ ।
गत वर्ष यही समयमा उपत्यकामा मात्रै १६ जनालाई डेंगु देखिएको थियो भने देशभर ८ सय ११ जना संक्रमित भएका थिए । डेंगुबाट विशेषगरि बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरु शतर्क रहनुपर्छ । बेलैमा उपचार पाए डेंगुबाट मानिसहरुले ज्यान गुमाउनु पर्दैन । वर्षा सकिन लागेकाले अब डेंगुको प्रकोप हट्ने उनी बताउँछन् । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोश घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्हास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।
डेंगु लाग्दा देखिने लक्षण
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।








