देश । अघिल्लो साता मात्र गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतलाई युट्युबबाट हटाउन लगाएको भन्दै आलोचना खेपेको सरकार त्यस्तो नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले राजधानीमा राजधानीमा आयोजित ‘नेपाल नाट्य महोत्सव २०७५’ को उद्घाटन समारोहमा बोल्दै सरकार सदैव कलाकारको पक्षमा रहेको बताएका छन् । ‘म आफै पनि कला प्रेमी हु’ प्रम ओलीले भने ‘यो सरकार कलाकारहरुकै हो ।’ उनले अंग्रेजीमै भने, ‘प्राइममिनिस्टर इज आर्ट लभर।’ साथै , उनले नाटक फिल्मभन्दा कठिन रहेको औंलाए ।
‘फिल्ममा एकै दृश्यलाई पनि विभिन्न किसिमले खिचेर देखाउन मिल्छ तर नाटकमा यस्तो हुदैन ‘ प्रधानमन्त्री ओलीले भने, ‘नाटक जीवन्त हुन्छ यसैले यसलाई महसुस गर्न सकिन्छ र यो वास्तविक छ ।’ नाट्य क्षेत्रलाई अगाडि बढाउन सरकारले सक्दो सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन छ । उनले आगामी बजेटमा नाट्य विधाकै लागि भनेर केही रकम व्यवस्था हुने बताए । सोमबार सुरू भएको नाट्य महोत्सवमा नेपालसहित ९ देशका नाटक सहभागी छन् । चार नाटक घरमा तीस वटा नाटक प्रस्तुत गरिनेछ ।