युवा फिल्मकर्मीले भेटे सञ्चारमन्त्री

फिल्म । फिल्मकर्मीको एक समुहले सञ्चार , सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई भेट गरेजा छन् । युवा फिल्मकर्मीको समुहले भेटघाटको क्रममा फिल्मी क्षेत्रको समस्या र भावी चलचित्र नीति निर्माणका लागि केही सुझाव दिएका थिए । निर्माता तथा कलाकार दीपकराज गिरी, निर्माता रविन्द्र सिंह बाँनिया, वितरक प्रचण्डमान श्रेष्ठ, लेखक सामिप्याराज तिमिल्सिना, निर्देशक प्रदिप भट्टराई, निर्देशक हेमराज वीसी, निर्माता श्रीधर पौडेल मन्त्रालय पुगेका थिए ।

‘राष्ट्रिय चलचित्र नीतिको परिमार्जन’, बक्स अफिस प्रणाली, नेपाली फिल्मलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार विस्तार तथा प्रवर्धन, सेन्सर बोर्ड, देशभित्रै फिल्मको बजार बिस्तार र प्रवर्धन लगायतका विषयमा छलफल भएको बुझिएको छ । सबै किसिमका सिन्डिकेटको अन्त्य गर्न पनि उनीहरुले मन्त्रीलाई आग्रह गरेका छन् । साथै , राष्ट्रिय चलचित्र पुरस्कार वितरणमा मापदण्ड बनाएर वितरण गर्न पनि मन्त्री बाँस्कोटाको ध्यानाकर्षण गराएका छन् ।

छलफलमा सहभागी फिल्म लेखक तथा पत्रकार सामिप्यले मन्त्री बाँस्कोटा सकारात्मक रहेको बताए । ‘हामीले विशेषत नेपाली फिल्मलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन अब सरकारको तर्फबाट पहल गर्न र नीतिमा सुंझाव दिएका हौँ’ उनले भने । साथै , छलफलमा नेपाल अन्तराष्ट्रियस्तरको फिल्म फेस्टिभल गर्ने विषयमा समेत छलफल भएको छ । भेटमा मन्त्री बाँस्कोटाले आफू समस्या समाधानका लागि गम्भिर रहेको बताउँदै अर्को भेटमा तयारीका साथ आउन फिल्मकर्मीलाई आग्रह गरे । साथमा, चाडै नै वृहत्त भेला गराउने बिषयमा समेत सहमती भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्