फिल्म । सदाबहार अभिनेताको ट्याग पाएका छन् , भुवन केसीले । किनकी उनलाई देख्नेले स्वरूपमा खासै परिवर्तन आएको मान्दैनन् । भुवनले पनि आफुलाई मेन्टेन गरेका छन् । यिनै भुवनका कान्छा छोरा अनमोल केसी अहिलेको समयको अनुहार बिक्ने कलाकार हुन् । उनलाई पोष्टरमा देखिएकै भरमा दर्शक हल पुगेको प्रमाणित भईसकेको छ । तर , यी दुइलाई फिल्ममा हेर्ने दर्शकको मनोकांक्षा पुरा भएको छैन ।
भुवन र अनमोल पछिल्लो फिल्म ‘क्याप्टेन’ को एक गीतमा सँगै देखिएका थिए भने होस्टेल फिल्मको क्लाइमेक्समा सँगै स्क्रिन शेयर गरेका थिए । तर , फिल्ममा सँगै यी दुइले अभिनय गरेका छैनन् । अनमोल सानो छदानै भुवनले केहि फिल्ममा यतिकै अभिनय गराएका थिए । यी दुइलाई होम प्रोडक्सनकै फिल्म ‘ड्रिम्स’ मा अभिनय गराउने चर्चा भएता पनि त्यो सफल हुन् सकेन ।

केमियो गर्न तयार रहेका भुवनलाई खेलाउंदा दर्शकलाई न्याय नहुने अनमोलले तर्क गरेपछि त्यतिबेला यी दुइलाई ठुलो पर्दामा देख्न सकिएन । तर , पछिल्लो समय यी दुइसँगै देखिने चर्चा फेरी सुरु भएको छ । उनि होम प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् , जसको स्क्रिप्टको काम भईरहेको छ । फिल्ममा अनमोल लिड रोलमा हुनेछन भने त्यसलाई भुवन आफैले निर्देशन गर्ने सम्भावना छ ।
यद्दपी निर्देशनको लागि पछिल्लो समय प्रदीप भट्टराईसँग पनि भुवनले छलफल गरिरहेका छन् । यसैबीच भुवनले एक कार्यक्रममा आफु अनमोलसँग फिल्ममा देखिने बताए । ‘चाँडै नयाँ फिल्ममा अनमोल केसीसँग पूरै नेगेटिभ रोलमा आउँदैछु’ उनके भने ‘यो दाह्री अझै बढाउनु पर्ने छ’ उनले फिल्मको विषय अरु जानकारी भने दिएनन् ।