फिल्म । पछिल्लो समय नेपाली फिल्ममा स्क्रिपटमा कम लगानी हुने गरेको चर्चा चल्ने गरेको छ । बेलाबखतमा प्रविधि झैँ लेखनमा लगानी नगर्दा राम्रो फिल्म आउन नसकेको खबर पनि नआउने गरेको होइन । तर , केहि समय अगाडी लेखक बुुद्धिसागरले फिल्मको पटकथा लेख्न १० लाख पारिश्रमिक पाएको चर्चाले फिल्मनगरीमा राम्रो स्थान पायो ।
कर्णाली ब्लुज , फिरफिरेका लेखक बुद्धिसागर फिल्मको पटकथा लेखनमा आउनु स्वागत योग्य थियो नै उनले पाएको पारिश्रमिकले गर्दा चर्चा डबल हुने नै भयो । रामबाबु गुरुङले निर्देशन गर्ने र अर्जुन कुमारले ‘बर्मजंगको भिडियो’ शीर्षकमा फिल्म निर्माण गर्ने खबरले मिडियामा राम्रै स्थान पायो । तर, बुद्धिसागरले दुई बर्षसम्म पनि फिल्म लेखिसकेनन् भन्ने चर्चा चल्दै गर्दा बीचैमा नयाँ हल्ला चल्यो, बुद्धिसागरले लेखि त सके तर ५ करोडभन्दा बढी बजेट लाग्ने कारणले फिल्म नबन्ने भयो ।
त्यसपछि फिल्मको अपडेट केहि बाहिरिएँन । अर्थात फिल्म बन्ने नबन्ने अन्यौल कै अवस्था थियो । तर, मंगलबार रामबाबु गुरुङले स्क्रिप्टको पहिलो ड्राफ्ट फेसबुकमा सार्वजनिक गर्दै फिल्म बन्ने संकेत गरेका छन् । उनले क्याप्सन लेखेका छन् ‘पढ्नलाई तयार भयो ।’
अर्थात् फिल्मको फस्ट ड्राफ्ट बल्ल तयार भयो । उनको सोसल मिडियामा पोस्टिएको यस स्टाटसले फिल्म बन्ने संकेत गरेको छ । यता फिल्मको कुरा गर्ने हो भने ‘बर्मजङको भिडियो’ बुद्धिसागरले केही बर्ष पहिले नागरिकको शनिबारीय परिशिष्टांक अक्षरमा लेखेको संस्मरण हो भन्ने चर्चा पनि छ । फिल्म हेर्न मरिहत्ते गर्ने युवकको कथा प्रस्तुत गरिएको आलेखलाई नै फिल्ममा रुपान्तरण गर्न लागिएको हो ।













