फिल्म । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ ले रिलिज पोष्टपोण्ड गरेको छ । अर्थात् अब यो फिल्म पूर्वघोषित मितिमा प्रदर्शन नभई एक सातापछाडी असार २७ मा दर्शकले हेर्न पाउनेछन् । फिल्म प्राविधिक पाटोमा काम गर्न समय अपुग भएपछि एकहप्ता पछि सरेको निर्माण पक्षले जानकारी गराएको छ ।
‘हतारमा नराम्रो फिल्म रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एकहप्ता ढिलो आउन लागेका हौँ’ निर्माता राजेन्द्र मानन्धरले बताए । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय छ ।
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।
काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । म्युजिकल लभस्टोरी रहेको उक्त फिल्मका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भइसकेका छन् ।