देश । सर्लाहीको लालबन्दीमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले दिएको जानकारी अनुसार प्रहरीसँगको दोहोरो फाइरिंगका क्रममा विप्लव समूहका जिल्ला इन्चार्ज पौडेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले पौडेलको साथबाट पेस्तोल र गोली बरामद गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
तर , जह्न्दै २ बजे आसपासमा भएको घटनाको आधिकारिक जानकारी ४ बजेपछि मात्र गराइएको थियो । स्थानीय पत्राकारका अनुसार जिल्ला प्रहरी कार्यालयले खुलेर यस विषयमा बोलेको छैन । ‘घटनाको बारेमा झन्डै ४ बजे आसपासमा इमेल मार्फत जानकारी गराइयो तर केहि हाम्रो सम्पर्कमा जिल्ला प्रहरी प्रमुख आउँन चाहेनन्’ स्थानीय एक पत्रकारले भने ।
मृत्यु भएका पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन । बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी विप्लव नेकपाले सुकुम्बासीहरुलाई राखेको थियो ।
प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो । पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।
विप्लव समुहले भन्यो ‘कायरतापूर्वक मारियो’
सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएपछी नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारको राज्य आतंक र हत्याको बदला लिने बताएको छ ।
विप्लव समूहका सर्लाही इन्चार्ज र जनकपुर ब्यूरो सदस्य पौडेल बिहीबार प्रहरी इन्काउन्टरमा मारिएपछि एक विज्ञप्ति जारी गर्दै पौडेलको गैरन्यायिक हत्या भएको उल्लेख गर्दै बदला लिने चेतावनी दिएको हो । पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पौडेललाई विप्लव समूहले सहिद घोषणा समेत गरेको छ । उक्त हत्या कायरतापूर्वक गरिएको विप्लव समूहको ठहर छ ।