फिल्म । आउँदो दसैँलाई प्रदर्शन लक्षित गर्दै फिल्म ‘रातो टिका निधारमा’ को छायाँकन पुर्वको झापाबाट सुरु भएको छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार फिल्मको छायाँकन नै शिर्ष गीतबाट सुरु भएको हो । झापाको रमणीय स्थानमा फिल्मको गीतलाई दसैँको माहोला छायाँकन गरिएको छ । गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाहसँगै डेब्यु ब्वाई अंकित शर्मा फिचर्ड छन् । गीतमा दुवैलाई रातो टिका निधारमा लगाएको देख्न सकिन्छ , जसले दसैँको माहोललाई सहजै अनुमान लगाउन सकिन्छ ।
‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यसफिल्ममा रि-एरेञ्ज गरिएको छ । गीतलाई प्रमोद खरेल र मेलिना राईले गाएका छन् भने यसलाई पहिलेकै संगीतकार शम्भुजित बास्कोटाले तयार पारेका हुन् । किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ ।
पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । यसमा शम्भुजितसँगै कल्याण सिंहको संगीत रहने छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।










