रहेनन् पुष्करलाल

19 Shares

देश । वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा ६० वर्षको उमेरमा आज निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उनमा थप समस्या देखिँदै आएको थियो ।

फिजियो थेरापीलगायतका विधिबाट उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको स्थितिमा घरमा नै राखेर फिजियो थेरापीलगायतका विधिबाट उपचार गर्न सकिने चिकित्सकको परामर्शअनुसार भैंसेपाटीस्थित निवासमा राखिएको थियो । यसरी उनको नियमित उपचार प्रक्रिया चल्दै गर्दा फेरि उनमा गम्भीर स्वास्थ्य समस्या देखा परेपछि एक महिना अघि नेपाल मेडिसिटी अस्पताल पुर्याएर सघन उपचार कक्षमा उपचार गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचारमा उनको उपचार गर्दै गर्दा स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा नै रहेपछि पहिलेदेखि नै उनको उपचारमा संलग्न चिकित्सकसँगको परामर्श र भारतीय चिकित्सकको सुझाव अनुरुप पुनः नर्भिक अस्पतालमा नै राखेर उहाँको उपचार हुँदै आएको कामना पब्लिकेसन्सले जनाएको छ ।

सन् १९५९ अगष्टमा जन्मिएका श्रेष्ठ सो पब्लिकेसन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुन । उनले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति (रासस), नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिएका थिए । श्रेष्ठका श्रीमती र तीन छोरा छन ।

Facebook Comments